राजनीति

चावहिल चोकमा निर्माण भएको आकाशे पुल शुभारम्भ

Lumbinikhabar Online

कोविड महामारीको समस्या समाधान गर्दै पार्क निर्माण र हरियाली प्रबर्धनलाई जोड दिएको बताउँदै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले वडा ६ मा मात्र करीब ८ करोड रुपैयाँ लागतमा २ वटा पार्क निर्माण भइरहेको बताएका छन्।

बुधबार बिहान आकाशे पुलको उद्घाटन, वडा भवन र पार्क निर्माणस्थलको अवलोकनपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। वडा ७ चावहिल चोकमा आकाशे पुलको उद्घाटनपछि मेयर शाक्यले वडा ६ को भवन निर्माण स्थल, त्यही वडाको निर्माणाधीन बागमती नगर पार्क र शान्ति नमूना पार्क, वडा ७ को मचागाः पार्कको अवलोकन गरेका थिए।

अवलोकनका क्रममा वडा ६ कार्यालय भवन निर्माण कार्यको प्रगति विवरण लिएका थिए। त्यस्तै बागमतीनगर र शान्ति नमूना पार्क निर्माण स्थलको अवलोकन गरेपछि उनले भने, ‘महानगरका क्षेत्रगत काममध्ये आजको अवलोकन यात्रु सुरक्षा तथा ट्राफिक व्यवस्थापन, पार्क निर्माण र हरियाली प्रत्रर्धन कार्यक्रममा केन्द्रित छ।’

‘खुल्ला ठाउँलाई अहिले पनि जोगाउन सकिएन भने भोलि सहरले झन् ठूलो संकट व्यहोर्नुपर्ने हुन सक्छ। त्यसैले हामीले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने अभियान थालेका हौं। मेयर शाक्यले भने, ‘सहरको अर्को ठूलो समस्या भनेको ट्राफिक व्यवस्थापन, पैदल यात्रु सुरक्षा र पार्किङ व्यवस्थापन हो।’

‘पैदल यात्रु सुरक्षाका लागि आकाशे पुल निर्माण गरिरहेका छौं। पिक एण्ड ड्रपलगायत अभियानबाट ट्राफिक व्यवस्थापनमा प्रयास गर्दैछौं,’ मेयर शाक्यले, पार्किङ व्यवस्थापनको प्रसङ्ग उठाउँदै भने, ‘यदि कसैले जग्गा उपलब्ध गराउँछ भने पार्किङ भवन हामी बनाइदिन्छौं । म तपाईमार्फत सबैमा आव्हान गर्न चाहन्छु । जग्गा भए वडामार्फत महानगरमा प्रस्ताव लिएर आउनोस्।’

Tags

छुटाउनु भयो कि ?