राजनीति

बालबालिकामुक्त सडक अभियानमा मन्त्रालय

Lumbinikhabar Online

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सरकार बालमैत्री वातावरण सहितको नेपाल निर्माण अभियानमा जुटेको बताउनुभएको छ ।
बालबालिका शान्ति क्षेत्र अभियानले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले बालबालिकामा गरेको लगानीले नै देशको भविष्य सुन्दर बन्ने भएकाले सरकारले दसवर्षे रणनीतिक योजना तयारी गरिरहेको जानकारी दिनुभयो ।
उहाँले विगतमा सडक बालबालिका शिक्षाबाट वञ्चित हुने देखिएपछि उनीहरूको पुनस्र्थापनाको जिम्मेवारी सरकारले लिएको उल्लेख गर्नुभयो । पारिवारिक पुनर्मिलनलाई समेत जोड दिँदै सुरु गरिएको बालबालिकामुक्त सडक अभियान कोरोना महामारीमा समेत जारी रहेको उहाँको भनाइ छ ।
मन्त्री गुरुङले सबै स्थानीय तहलाई बालमैत्री बनाउन गृह, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य, शिक्षा लगायतका अन्तरमन्त्रालयसँग सहकार्यमा जोड दिइएको स्पष्ट गर्नुभयो । “अनाथ बालबालिकाको राज्य अभिभावक बन्नुपर्छ भन्ने मान्यताका साथ सरकारले काम गरिरहेको छ,” मन्त्री गुरुङले भन्नुभयो, “त्यसका लागि अन्तरमन्त्रालयबीचको सहकार्यमा जोड दिइएको छ ।”

Tags

छुटाउनु भयो कि ?