टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८२५ पुगेको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८२५ पुगेको हो। वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना सङ्क्रमित भेटिएका छन्। वडा नं २ मा ५१, वडा नं ४ मा ४३, वडा नं ५ मा ८६, वडा नं ६ मा ९१, वडा नं ७ मा ८०, वडा नं ८ मा ९४, वडा नं ९ मा ५५, वडा नं १० मा ६६ र वडा नं ११ मा ६२ सङ्क्रमित छन्।
कोरोना सङ्क्रमितमध्ये ४४४ जना निको भएर घर फर्किसकेको, ३०४ जना होम आइसोलेसन र ६९ सङ्क्रमितको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए। तीमध्ये पाँचजना अहिलेसम्म सम्पर्कविहिन छन्।टोखामा हालसम्म कोरोना सङ्क्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ। वडा नं ४, ६ र ९ मा एक/एक जनाको मृत्यु भएको प्रवक्ता बस्यालले बताए। काठमाडौँ महानगरपालिकापछि सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएको नगरपालिका टोखा हो।