बिबिध

राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन शुरू

Lumbinikhabar Online

जिल्ला प्रशासन कार्यालय डोटीले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण संकलनका काम शुरू गरेको छ । गत वर्षदेखि नै शुरू भएको कार्यक्रम कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण रोकिएको थियो ।

कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणका आवश्यक उपाय अवलम्बन गरी सामाजिक दूरी कायम गरेर शनिवारबाट जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलनका काम शुरू गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । उनले भने, ‘कोरोना संक्रमणका कारण रोकिएको राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलनको काम पुनः शुरू भएको छ, नागरिकता पाएका व्यक्तिले आफ्नो विवरण बुझाउन सक्नेछन् ।’

उनले राष्ट्रिय परिचय पत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैलाई नागरिकताको सक्कलै प्रति अनिवार्य बोकेर जिल्ला प्रशासन कार्यालयमा आउनसमेत आग्रह गरे । जिल्लाका ९ वटै स्थानीय तहका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न थालिएको जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत शिवकुमार राईले बताए । उनले भने, ‘राष्ट्रिय परिचय पत्रका लागि विवरण पेस गर्न आएका सबै जनाको हामीले विवरण संकलन गर्न थालेका छौं, सक्कल नागरिकता बोकेर आएका सबैको विवरण संकलन गरिने छ ।’

जिल्ला प्रशासनले नागरिकता बनाउन आउने सबै व्यक्तिको अबदेखि राष्ट्रिय परिचयपत्रका लागि समेत विवरण संकलन गर्ने प्रजिअ भट्टराईले बताए । संकलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचयपत्र बाँडिनेछ ।

परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुबा र आमाको नागरिकता पनि आवश्यक पर्नेछ । १० अंकको नम्बर रहेको परिचयपत्रमा नागरिकको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका औंठाछाप, शैक्षिक योग्यता, पेशा अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने छ ।

Tags

छुटाउनु भयो कि ?