राजनीति

सार्क विदेशमन्त्री स्तरीय भर्चुअल बैठक सम्पन्न

Lumbinikhabar Online

दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) को विदेशमन्त्री स्तरीय भर्चुअल बैठक आज सम्पन्न भएको छ। सार्क सदस्यमध्ये भारत र पाकिस्तानबीच तनाव बढ्दा लामो समयदेखी सार्क विदेशमन्त्री स्तरीय बैठक बस्न सकेको थिएन। अहिले संयुक्त राष्ट्रसंघको ७५औं महाशभाको साइडलाइनमा सार्क विदेशमन्त्री स्तरीय भर्चुअल बैठक बसेको हो। भारत र पाकिस्तानबीच तनाव बढ्दा सन् २०१६ मा पाकिस्तानम हुनुपर्ने सार्क शिखर सम्मेलन हालसम्म हुन सकेको छैन।

आज सम्पन्न सार्क विदेशमन्त्रीहरुको भर्चुअल छलफललाई परराष्ट्र मन्त्रालयले अनौपचारिक बैठक भनेको छ। सार्क विदेशमन्त्री स्तरीय भर्चुअल बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका थिए।

“बैठकमा सार्क सदस्य राष्ट्र सबैको परराष्ट्र तथा विदेश मन्त्रीहरुके सहभागीता रहेको थियो,” परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले सार्कलाई प्रभावकारी र नतिजामुखी बनाउनु पर्नेमा जोड दिएका थिए। दक्षिण एसियाली जनताको जीवनमा देखिने गरी परिवर्तन सार्कले ल्याउन सक्नुपर्ने उनले बताएका थिए।

उनले १९औं सार्क शिखर सम्मेलन छिटोभन्दा छिटो आयोजना गर्नको लागि सबै विकल्प खुला गर्न सदस्य राष्ट्रहरुलाई आग्रह गरेका थिए। परराष्ट्रमन्त्री ज्ञवालीले कोरोना महामारी विरुद्ध सार्क सदस्य राष्ट्रहरु एक भएर लड्न पर्ने बताएका थिए। बैठकमा भारतका विदेशमन्त्री एस. जयशंकरले सार्कको गतिलाई आतंकवाद र राष्ट्रिय सुरक्षाले रोकेको बताए।

Tags

छुटाउनु भयो कि ?