खेलकुद

अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डिन जोन्सको ५९ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु

Lumbinikhabar Online

अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डिन जोन्सको ५९ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको छ। आईपीएल दौरान मुम्बईमा रहेर कमेन्ट्री गरिरहेका जोन्सको त्यहीँ मृत्यु भएको स्टार इन्डियाले जनाएको छ। उनले स्टार इन्डियाका लागि आइपिएलको कमेन्ट्री गरिरहेका थिए।

“डिन मेर्विन जोन्स एएम अब हामीसँग छैनन् भन्ने सत्यले हामीलाई दुखी बनाएको छ। यो मुस्किल घडीमा हामी उनको परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छौं र हरसम्भव सहयोगका लागि तयार छौं। उनको मृत्युपछि हामी अस्ट्रेलियाली उच्चायोगसँगको सम्पर्कमा सबै आवश्यक व्यवस्था गरिरहेका छौं,” स्टार इन्डियाले विज्ञप्तिमा भनेको छ, “क्रिकेट खेलका सबभन्दा महान् सदभावना दुतमध्ये डिन जोन्स एक थिए। सधै नयाँ प्रतिभा खोज्न र उसलाई निखार्न लागी पर्ने जोन्स कमेन्ट्रीका च्याम्पियन थिए। उनको उपस्थितिले लाखौं समर्थकहरुको मन जित्थ्यो।”

अस्ट्रेलियाका महान ब्याट्सम्यानहरुको सुचीमा सम्मानका साथ स्मरण गरिने जोन्सले आफ्नो सानदार करियरमा कूल ५२ टेस्ट तथा १६४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए। १९८६-८७ को सिजनमा मद्रासमा भारतविरुद्धको खेलमा खेलेको २१० रनको इनिङ उनको करियरकै सबभन्दा सम्झन लायक थियो। चर्को गर्मीका बीच भइरहेको उक्त खेलमा जोन्सको स्वास्थ्यमा समस्या आए पनि उनले खेल छोडेनन्। खेल सकिनेबित्तिकै उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो।

आइपिएलको टोली दिल्ली क्यापिटल्ससँग अनुबन्धित नेपाली राष्ट्रिय टोलीका स्टार लेगस्पिनर सन्दीप लामिछानेले जोन्सको मृत्युमा दुख प्रकट गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा सन्दीपले डिन जोन्सको मृत्युको खवरले आफू स्तब्ध भएको उल्लेख गर्दै आत्माको चीर शान्तिको कामना गरेका छन्।

Tags

छुटाउनु भयो कि ?