बिबिध

कैदीबन्दी जैसवालको मृत्यु प्रकरण:वीर अस्पताल र केन्द्रीय कारागार कार्यालयले भन्यो मृत्यु शंकास्पद छैन

Lumbinikhabar Online

कैदीबन्दी रामलखन जैसवालको मृत्यु प्रकरणमा वीर अस्पताल र केन्द्रीय कारागार कार्यालयले मृत्यु शंकास्पद नभएको प्रष्टीकरण दिएको छ ।३ असोज राति ११:५५ बजे मृत्यु भएका जैसवालको मृत्यु सामान्य ढंगबाटै भएको अस्पताल र केन्द्रीय कारागारले बताएको छ । घटनाका विषयमा जानकारी दिन आज भएको पत्रकार सम्मेलनमा जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले तीन दिनदेखि मृतकको शव, शवगृहमा राख्दा शवमा फोकाहरू रहेको, सन्निएको तथा मुख र नाकबाट तरल पदार्थ देखिएको बताए ।

शवलाई उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा शवमा सो लक्षणहरू देखिएको उनले बताए । सामाजिक सञ्जाल र सञ्चार माध्यममा हत्या गरी आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रमक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सीसीभीटी फुटेजबाट कारागारभित्र हत्या भएको भन्ने तथ्य गलत भएको र बाँकी पोष्टमार्टम रिपोर्टपछि थाहा हुने बताए ।

वीर अस्पतालका निर्देशक डा. केदार प्रसाद सेन्चुरीले उपचारका लागि अस्पताल पुर्‍याइएका जैसवाल जीवित रहेको कुनै पनि लक्षण नरहेको बताए । अस्पतालमा कुनै पनि प्रकारको उपचार नभए पनि पोष्टमार्टम गर्नुपर्ने भएकाले कारागारको आग्रहअनुसार पीसीआर परीक्षण गरिएको बताए ।

वीर अस्पतालको शव राख्ने स्थान सामान्य कोठा भएको र गर्मी मौसम भएकाले शव सुनिने, फोका आउने, विभिन्न भागमा दाग देखिएको बताए । बाहिर आएजस्तो शरीरमा कुनै चोटपटक भएको, आँखा निकालिएको भन्ने कुरा सही नभएको उनले बताए ।

अस्पतालको फरेन्सिक विभागमा कार्यरत डा. सुगम श्रेष्ठले तीन दिनपछि शव सुन्निएको, फोकाहरू देखिएको, मुख सुन्निएर चिन्नै नसकिने अवस्था भएको, जिब्रो बाहिर निकालेको र मुख र नाकबाट रगत बगेको देखिएको बताए । भित्रि समस्या के थियो भन्ने कुरा पोष्टमार्टमपछि थाहा हुने उनले बताए ।

Tags

छुटाउनु भयो कि ?