जापानको नयाँ प्रधानमन्त्रीको रुपमा योशिहिदे सुगाले बुधबार पदभार लिएका छन् । उनले परिचित अनुहारहरूको मन्त्रिपरिषद गठन गरेका छन् । अर्थमन्त्री तारो एसो, परराष्ट्रमन्त्री तोशिमिट्सु मोटेगी र वातावरण मन्त्री शिन्जिरो कोइजुमी लगायतका अन्य मन्त्रीहरुलाई यथावत् राखिएको छ ।
मन्त्रिपरिषद्का २० सदस्यमध्ये १५ जना तत्कालीन प्रधानमन्त्री शिन्जो आबेकै मन्त्रिपरिषदका सदस्यहरु रहेका छन् । नयाँ मन्त्रिपरिषदमा न्यायमन्त्री योको कामिकावा र ओलम्पिक र प्यारा ओलम्पिक मन्त्री सेको हाशिमोतो दुई महिला मात्र छन् । जापानका स्वास्थ्यमन्त्री कात्सुनोबु कातोलाई मन्त्रिपरिषदको मुख्य सचिवको जिम्मेवारी दिइएको छ । जापानमा मुख्य सचिवले नीति समन्वयक र सरकारका शीर्ष प्रवक्ता दुबैको भूमिका खेल्दछन् । यसैबीच, पूर्वप्रधानमन्त्री शिन्जो आबेका कान्छा भाइ एवं पूर्व उपविदेशमन्त्री नोबुओ किशीलाई नवगठित मन्त्रिपरिषदमा रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ ।