ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन्। शाक्यसँगै उनका श्रीमान् पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।
ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराएकी हुन्। पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताइन्। घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफूहरुले पीसीआर परीक्षण गराएको शाक्यले बताइन्।
पहिलो पटक कोरोना नदेखिए पनि पछि आफू, श्रीमान् र छोरामा लक्षण देखापरेपछि पुनः परीक्षण गराउँदा तीनै जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको ओलम्पियन शाक्यले जानकारी दिइन्। तीनै जना घरमै आइसोलेसनमा बसिरहेका छन्।