यसअघि रथ तान्दै नगर परिक्रमा गराउने क्रममा रथ जुन ठाउँमा रोकियो, त्यही ठाउँका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने गर्दथे । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण रातो मच्छिन्द्र नाथको सबै विधि प्रकृयाहरु हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने जात्रा संयोजक महर्जनले बताए ।
विगतका वर्षहरुमा मच्छिन्द्रनाथलाई पुल्चोकमा तयार पारिएको रथमा राखिएको चार दिनमा पुल्चोकबाट तानेर गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल र जावलाखेल पुर्याइन्थ्यो । रथ जावलाखेल पुर्याएको दिन भोटो देखाउने जात्रा हुन्थ्यो । जात्रामा राष्ट्राध्यक्षसमेत सहभागी हुने परम्परा छ । तर यस वर्ष भने कोरोना संक्रमणको जोखिमका कारण भोटो देखाउने जात्रा हुने छैन ।
मच्छिन्द्रनाथको रथ गत साउन १० गते पुल्चोकमा ठड्याए पनि कोरोना संक्रमणको जोखिमका कारण तानिएको थिएन । रथ तान्न दबाब दिने उद्देश्यले पुल्चोकमा भेला भएका स्थानीय युवा र प्रहरीबीच तीन दिनअघि झडप भएको थियो ।स्थिति असामान्य भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले चक्रपथ भित्रको क्षेत्रमा कर्फ्युसमेत लगाएको थियो ।