भाद्र १७ – गुरिओन विमानस्थलबाट इजरायल तथा अमेरिकाका उच्च अधिकारीहरुसहित उडेको इजरायली ध्वजाबाहक अल–एल विमान सोमबार यूएईको अबुधाबीमा अवतरण गरेको हो । उडानलाई दुई देशबीच भएको शान्तिसम्झौताको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।
इजरायल र यूएईबीच यसै महिनाको सुरुमा भएको उक्त सम्झौतासँगै दुवै देशबीच सम्बन्ध सामान्यीकरण गर्न विभिन्न योजनाहरु अघि सारिएको जनाइएको छ ।
अमेरिकी पहलमा गरिएको उक्त सम्झौतासँगै इजरायली व्यापारिक उडान साउदी अरबको आकाशबाट उड्न दिइएको हो । सामान्यत: साउदी अरबले आफ्नो हवाई क्षेत्रबाट इजरायली विमान उड्न रोक्दै आएको छ ।
उक्त सम्झौतासँगै यूएई मध्यपूर्वमा इजरायललाई मान्यता दिने तेस्रो राष्ट्र बनेको छ । यसअघि इजरायलसँग इजिप्ट र जोर्डनले कूटनीतिक सम्बन्ध राखेका थिए । यूएईसँग इजरायलको आजसम्म युद्ध भएको छैन ।
अबुधाबीमा अवतरण गरेको विमानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार एवं ज्वाइँ जरेद कुस्नर, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ–ब्रायन, मध्यपूर्वका लागि अमेरिकी विशेषदूत अभि बर्कोविज र इरानका लागि अमेरिकी विशेषदूत ब्रायन हुक रहेका थिए ।
त्यस्तै, इजरायका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार मेइर बेन–सब्बत र विभिन्न मन्त्रालयका महानिर्देशकहरु थिए । दुवै देशका प्रतिनिधिमण्डलले यूएईका विशिष्ठ व्यक्तिहरुसँग भेटवार्ता गर्ने जनाइएको छ । विमानमा अंग्रेजी, अरबी र हिब्रु भाषमा ‘शान्ति’ लेखिएको थियो ।