पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको करारपत्र एकतर्फी रुपमा रद्द गरेर रोजगारदाताले अन्तर्राष्ट्रिय कानून उल्लंघ गरेको बताएका छन् । उनले सामाजिक संजाल मा एस्तो लेखेका छन् ,
‘यति बेला वैदेशिक रोजगारीमा गएका कतिपय नेपाली श्रमिक दाजुभाई-दिदीबहिनीहरु Covid -19 को कारण जोखिममा छन् । खास गरी करार अवधि सकिएर स्वदेश फर्कने क्रममा रहेका, अलेखबद्ध, आममाफीमा भाग लिएका, Visit-Visa को म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका र अन्य विभिन्न कारणले समेत श्रमिकहरु समस्यामा छन् । कतिपय देशमा करार सम्झौताको एकपक्षीय रूपमा रद्द गरी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने र जबरजस्ती देश छाड्न आदेश गर्ने जस्ता अमानविय घटनाहरू समेत देखा परेका छन् । विभिन्न देशमा खाने-बस्ने समस्याको कारण नेपालीहरूको जीवन अत्यन्त जोखिममा परेको छ । परदेशमा रगत-पसिना बगाएर मातृभूमिको सेवा गर्ने विभिन्न देशमा रहेका नेपालीहरू अलपत्र परेका छन् । उनीहरूले उद्धार र राहतको लागि सरकारको सहारा खोजिरहेका छन् । यस्तो अवस्थामा उनीहरूको उद्धार गरी नेपाल ल्याउन, स्वदेश नल्याउँदासम्म खाने-बस्ने कुराको व्यवस्था गर्न र सम्बन्धित देशलाई करार सम्झौताको अनिवार्य पालना गराउन नेपाल सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् । नेपालीहरूको समस्या प्रति सरकार संवेदनशील बनोस् ।’